धर्मेन्द्र बाँस्तोला थुनामुक्त लगत्तै पुनः पक्राउ 

बिहीबार, माघ २२, २०७७

काठमाडौं । सर्वाेच्च अदालतको आदेशपछि थुनामुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लब समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वाेच्च अदालतको गेटबाटै प्रहरीले पुन पक्राउ गरेको छ ।  सर्वाेच्चका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न सर्वाेच्च अदालतले बिहीबार आदेश दिएको थियो ।  बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीस दिपकुमार कार्की र सुष्मालता माथेमाको इजलासले बास्तोलाको पक्राउ गैरकानुनी भन्दै आज छोड्न आदेश दिएको थियो । अदालतले नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको रोहबरमा छोड्न भनेको थियो । तर बास्तोलालाई सर्वाेच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । बास्तोलालाई पक्राउपछि महानगरीय प्रहरी बृत्त कमलपोखरी पु¥याइएको छ ।  बारका अध्यक्ष श्रेष्ठले बास्तोलालाई सर्वाेच्च अदालतको गेटबाटै पक्राउ गरेर लगेको जानकारी दिए । उनले भने, ‘अर्काे मुद्दा छ भन्दै कमलपोखरी लिएर गएका छन् ।’ बास्तोलालाई प्रहरीले ललितपुरबाट पुस २९ गते पक्राउ गरेको थियो ।  स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ ।  यसअघि, यही माघ १५ गते न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।  विप्लब नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाकोतर्फबाट हिमा बाँस्तोलाले सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार