आम हड्ताल कतै झडप, कतै सवारी साधानमा आगजनी

ओली समूहले निकाल्यो मार्च पास, सामाजिक सञ्जालमा बन्दको विरोध
बिहीबार, माघ २२, २०७७

 काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आम हडतालले 
जनजीवन प्रभावित भएको छ ।  बन्द उलंघन गर्ने  १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए ।  प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।  राजधानीसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ ।  प्रहरीले प्रदर्शनमा उत्रिएका १५७ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर्शनकारीले सवारी आवागमनलाई अवरोध गरेका थिए । नागढुंगा, कोटेश्वर, चावहिल, बालाजु बाईपास, गोंगबु, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीको भीड लागेको छ ।  बन्द सफल पार्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सडकमा उत्रिएका थिए । दाहाल गाडी चढेरै कोटेश्वर पुगेका थिए । नेपाल भने स्कुटरमा चढेर अवलोकनका लागि भन्दै विभिन्न स्थानमा पुगे ।  चावहिल र कोटेश्वरमा भने मुडभेडको अवस्था आउनसक्ने आंकलन गर्दै  प्रहरीले सवारी आवागमन रोकेको थियो । प्रदर्शनकारीले प्रेसलाई समेत निशाना बनाएका छन् । ललितपुरको सातदोबाटोमा माउन्टेल टेलिभिजनकर्मी दिवाकर साहमाथि हातपात भएको छ । राजधानीमा प्रदर्शनकारी र प्रहरीबीच मुडभेडको अवस्था नदेखिए पनि जनकपुर, विराटनगर, धादिङ, वीरगंज लगायतका केही जिल्लामा घम्साघम्सी भएको छ । स्थिति नियन्त्रणमा लिन जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर र १२ राउण्ड टियर ग्यास प्रहार गरेको छ ।  प्रदर्शनमा पूर्वमन्त्री रामचन्द्र झालगायत प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै धनगढीमा दाहाल–नेपाल समूह र ओली समूहका प्रदर्शनकारीबीच झडप भएको हो ।  प्रदर्शनकारी बिहानै तोडफोडमा उत्रिएपछि दिउँसोसम्म मोटरसाइकलबाहेक निजी सवारीसाधन गुडेनन् ।  बन्दको दिन ट्याक्सी, टेम्पो र माइक्रोबस भने भाट्फुट्ट चलेका छन् । मुख्य सडकका व्यापरिक केन्द्र सबै बन्द भए । राजधानीमा भित्री गल्लीका पसलहरु फाट्फुट्ट खुलेका छन् । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले प्रहरीको सुझबुझकै कारण ठूलो दुर्घटना टरेको बताए । उनले भने, ‘ठाँउठाउँमा गाडी तोडफोड भए, प्रदर्शनकारीलाई समयमै पक्राउ गरेर स्थानान्तरण ग¥यौं। त्यस्तो अप्रिंय घटना हुन पाएन ।’

ओली पक्षको मार्चपास 
केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् । शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् । युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षले मार्च पास गरेको हो । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएका थिए । 
सामाजिक सञ्जालमा चर्काे आलोचना
आम हडताल आह्वान गरेको दाहाल–नेपाल समूहको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । खासगरी नयाँ संविधान निर्माण र त्यसपछि स्थायित्वको नारा दिँदै सरकार गठन भएयता केही समयदेखि राजनीतिक दलहरूले बन्द हडताल गर्न छाडेका थिए । तर बिहीवारको हड्तालसँगै अब यो क्रम फेरि शुरु हुने चिन्ता व्याप्त देखिन्छ । सरकारले हठात् संवैधानिक निकायहरूमा नियुक्ति गरेको विरोधमा आम हडताल आयोजना गरिएको आयोजक समूहको भनाइ छ । बिहीवार आम हडताल गर्ने भनेर बुधवार घोषणा गरिएलगत्तै सामाजिक सञ्जालमा धेरै मानिसहरूले बन्दको विरोध गर्न थालेका हुन् । धेरैले अब फेरि बन्द हडताल नियमित हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसले केवल गरिखाने वर्गलाई हानि हुने भन्दै सजग गराउन खोजेका छन् । बन्द हडतालका क्रममा हुनसक्ने हिंसाले पनि धेरैलाई उद्धेलित बनाएको देखिन्छ । बिहीवार बिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भएपछि राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले हिंसात्मक गतिविधिको भत्र्सना गरेकी छन्  ।

अर्थतन्त्रको चिन्ता
बन्द हड्तालले महामारीबाट भर्खरै तङ्ग्रन खोजेको अर्थतन्त्रमा फेरि अर्को झट्का लाग्ने त्रास कैयौँले व्यक्त गरेका छन् । आर्थिक मामिलाका जानकार पत्रकार गजेन्द्र बुढाथोकीले बन्दले अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पार्ने भन्दै त्यसको सधैँ आफूले विरोध गर्ने लेखेका छन् । अर्थतन्त्रका अर्का जानकार सुजिव शाक्यले ट्वीटरमा ‘धनी राजनीतिज्ञहरूको देशमा एक दिनको हड्तालले उनीहरूलाई प्रभाव पार्दैन । तर त्यसले महामारीको नोक्सानी बेहोरिरहेका मानिसहरूलाई थप एक दिनको हानि पुग्छ’ भनेर लेखेका छन् । बन्द आह्वान गर्ने समूहका नेता विष्णु रिजालले चाहिँ हड्ताल गर्नु आफ्नो बाध्यता भएको उल्लेख गरेका छन् । विगतमा बन्द हडतालको विरोध गर्ने कतिपय नेताहरू नै अहिले बन्द आयोजकको कित्तामा पुगेको प्रति पनि कतिपयले प्रश्न उठाएका छन् । टिप्पणीकार केदार शर्माले ट्वीटरमा त्यस्तै प्रतिक्रिया लेखेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार