दाहाल–नेपाल समूहका सैयौं कार्यकर्ता पक्राउ

कलंकीबाट अष्टलक्ष्मी शाक्य पक्राउ, गोंगबुमा ट्याक्सी जलाइयो 
बिहीबार, माघ २२, २०७७

काठमाडौं । संसद्लाई छलेर गरिएका संवैधानिक नियुक्ति बदर गरिनुपर्नेलगायतका माग राखेर नेकपाको दाहाल–नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आम हड्ताल बिहानी पखदेखि नै हिंसात्मक मोडतर्फ उन्मुख भएको छ । नेकपाको सत्तारुढ ओली समूह आम हड्ताल असफल पार्ने तथा नेकपाकै अर्काे घटक दाहाल–नेपाल समूह जसरी पनि आम हड्ताल सफल बनाउने रणनीतिमा उत्रेपछि आमहड्ताल हिंसात्मक मोडतर्फ उन्मुख भएको हो । राजधानीको गोंगबूमा दाहाल–नेपाल समूहका कार्यकर्ताले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । प्रहरीका अनुसार प्रदर्शनकारीले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् । आम हड्ताल सफल बनाउन काठमाडौं उपत्यकाका सडकमा निस्केका दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । यसै क्रममा प्रहरीले नेकपा नेतृ अष्ठलक्ष्मी शाक्यलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । शाक्यसहित समूहका आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो समाचार तयार पार्दसम्म बन्दकर्ता दाहाल–नेपाल समूहका एक सयजना भन्दा नेता कार्यकर्तालाई विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार