म्यान्मारप्रति राष्ट्र संघ रुष्ट 

सैन्य कू विफल पार्न राष्ट्रसंघको आह्वान 
बिहीबार, माघ २२, २०७७

याङगुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले सोमबार म्यान्मारमा भएको कू विफल हुने सुनिश्चित पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । उनले चुनावलाई उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनै पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ, तर कूको निन्दा हुने कुनै पनि शब्द चीनले रोक्ने ठानिएको छ । सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिर्यफ्तार गरेको थियो । संयुक्त राष्ट्रसंका महासचिवले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका छन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए । ‘यो कू विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौं’ उनले भने, ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’
पश्चिमा देशहरूले कू को निन्दा गरेका छन् तर समान धारणा राखेर वक्तब्य निकाल्न भने चीनले नमानेपछि सुरक्षा परिषद्को प्रयास विफल भएको छ । भिटो अधिकार प्रयोग गर्नसक्ने परिषद्का पाँच स्थायी सदस्य देशमध्ये चीन पनि एउटा हो ।
सूचीविरुद्ध अभियोग दर्ता
म्यान्मारको प्रहरीले सू चीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ । फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् । नेत्री सूचीमाथि आयात तथा निर्यातसम्बन्धी कानुनहरूको उल्लंघन गरेको र सञ्चारका अवैध उपकरणहरू राखेको लगायतका अभियोग लगाइएको छ ।
सैन्य कूपश्चात सेनाले नियन्त्रणमा लिएपछि उनलाई कहाँ राखिएको छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । तर कतिपय विवरणहरूमा जनाइएअनुसार राजधानी नेपिद्अस्थित निवासमै सूचीलाई नजरबन्दमा राखिएको छ । पदबाट हटाइएका राष्ट्रपति विन मिनविरुद्ध पनि प्रहरीले अभियोग दर्ता गरेको छ । उनीमाथि कोरोनाभाइरस महामारीबीच भेलासम्बन्धी नियमहरू उल्लंघन गरेको अभियोग लगाइएको छ ।
सत्ता हातमा लिइएपछि सू ची र राष्ट्रपति विन मिन दुवैका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन् । एक वर्षका लागि संकटकाल लागु गरेको सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । उक्त चुनावमा सू चीको नेशनल लिग फर डेमोक्रेसीले अत्यधिक मत ल्याएको थियो । सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको खबरहरू आएका छन् । सामाजिक सञ्जालहरूले ‘स्थायित्वको पुनस्र्थापनामा बाधा पु¥याएको’ भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो ।
बिहीवार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । कूको विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् 
जननिर्वाचित सरकारलाई च्युत गरेकोमा अन्तर्राष्ट्रिय समुदायबाट सेनाको निन्दा भइरहेको छ ।सू चीका समर्थहरूले सोमवार सत्ता हत्याएको सैनिक सरकारविरुद्ध नागरिक अवज्ञाको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । थुप्रै स्वास्थ्यकर्मीहरूले सैनिक अधिकारीहरूसँग सहकार्य नगर्ने घोषणा गरेका छन् । देशको व्यापारिक राजधानी यांगुनका बासिन्दाले रातको समयमा मोटरकारका हर्न बजाएर र घरका भाँडाकुँडा बजाउँदै चर्काे आवाज निकालेर सैनिक सरकारप्रति अवज्ञा जनाएका थिए । म्यान्मारमा संकटकाल लागु गरिएपछि हाल ११ सदस्यीय सैनिक कमिटीले देशमा शासन गरिरहेको छ । सेनाले पूर्व सत्ताधारी दल नेशनल लिग फर डिमोक्रेसीका केही गैरसैनिक राजनीतिज्ञलाई हिरासत मुक्त गर्न सुरु गरेको छ ।–बीबीसी
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार