सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, ३० कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगका लागि फराकिलो हुनुपर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहनालाई चीनले गम्भीरताका साथ लिएको र चीन र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवद्र्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनःरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताएका थिए । उनले संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा बढावा दिने काम भने बन्द गर्नुपर्ने बताएका छन् ।
बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन् । महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन् । घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन् । “मैले पहिले भनेझैँ, यो चीन र संयुक्त राज्य अमेरिकाका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी हो । हाम्रा देशबीचको प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो, चाहे उद्देश्य होस् वा नहोस्,“ बाइडेनले सीलाई भनेका छन् । बाइडेनले सोमबार उनीहरूको भर्चुअल बैठकको सुरुमा सीलाई “केवल सरल, सीधा प्रतिस्पर्धा“ मात्र उपयुक्त हुने बताएका छन् । ह्वाइट हाउसले यो बैठकबाट धेरै अपेक्षा गरेको छैन केबल सम्बन्धलाई प्रगाढ बनाउन सामान्य कूटनीतिक र औपचारिक संयुक्त वक्तव्य जारी हुनसक्ने आँकलन गरेको थियो । यद्यपि दुवै नेताहरूले एक अर्कालाई पुराना मित्रका रूपमा लिँदै व्यक्तिगतस्तरबाटै द्वीपक्षीय सम्बन्ध थप हार्दिक बनाउन सकिने खालको आशय वार्तामा अभिव्यक्त गरेका छन् । यसको मूर्त रूप देख्न भने केही समय पर्खिन पर्ने सार्वजनिक टिप्पणी भइरहेका छन् ।– रासस/सिन्ह्वा