संवैधानिक निकायमा नियुक्तिको विरोधमा दाहाल–नेपाल समूहद्वारा आम हड्ताल

बुधबार, माघ २१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले बिहीवार आम हड्ताल गर्ने बताएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले ‘असंवैधानिक रूपमा गरिएको नियुक्तिको विरोधमा’ आम हड्ताल गरिने बताइन् ।
संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै यो समूहले आम हड्ताल गर्ने घोषणा गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेकी थिइन् । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो । 
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीका तर्फबाट क्षमाचायना गरेका छौंं ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

हड्ताल गरे कारबाही गर्ने गृहको चेतावनी
गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  २२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार