सोसल मिडिया
Contact Us
युनिकोड
गुयाक्वील (इक्वेडर), २८ कात्तिक । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहबीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै इक्वेडरका कारागारभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ । अहिलेको झडप भने शुक्रवार साँझ सुरु भएको थियो । झडपलाई नियन्त्रण गर्न कारागारभित्र गएको प्रहरीले बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियार फेला पारेको थियो । शनिवार पनि विवाद कायम रहेपछि कारागारबाहिर सैनिक परिचालन गरी कारागारलाई बाहिरबाट थप सुरक्षा दिइएको थियो । घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु भएकाको नामावली कारागारबाहिर टाँसिएको छ । मृतकको सूची हेर्न कैदीका नातेदार तथा साथीको भीड लागेको छ । कारागारभित्रको एउटा समूहका नाइके रिहा भएपछि उनको सट्टामा कस्ले नेतृत्व गर्ने भन्ने बारेमा सुरु भएको विवादले झडपको रुप लिएको हो । घटनाप्रति राष्ट्रपति गुलेमो लास्सोले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले अराजकताबाट फाइदा लिने समूहलाई नियन्त्रण गर्न नयाँ व्यवस्थाको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् । इक्वेडरका कारागारका क्षमताभन्दा ९,००० बढी कैदी रहेका अधिकारीले बताउने गरेका छन् ।–रासस/एएफपी