सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली, २८ कात्तिक । .भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भीडन्त भएको थियो । सो भीडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ । महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भीडन्त भएको थियो । यस भीडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ । कतिपय विद्रोही भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालबीच भीडन्त भएको थियो । उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ । यी नक्साल भारतको मध्य तथा पूर्वीक्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।
भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा
भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ । “भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् । रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।– रासस/एएनआई