प्रदूषण उच्च देखिएपछि नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

शनिबार, कात्तिक २७, २०७८

नयाँदिल्ली, २७ कात्तिक ।  भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  
भारतका प्रधानन्यायधिश एनभी रमण, न्यायाधिश डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । 
“हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको छ । 
मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधिशले गरेका  छन् ।  लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दिर्घकालिन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनु पर्ने उल्लेख गरेको छ । अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकालाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । 
चिकित्सकले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यसतर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 
विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दिर्घकालिन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
वायु प्रदूषणको असर बालबालिकाहरुमा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा धिरेन गुप्ताको भनाइ छ । 
“बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,” उनले भने ।  बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।
विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए ।साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए ।  नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।
पटकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसले तिहारका बेलामा राती अबेरसम्म पटाका पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ ।  सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको छ ।  हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । सरकारी वायु गुणस्तर मापन अधिकारीले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।  दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहर अति प्रदूषित् सहरमा पर्दछन् । संसारका सबैभन्दा धेरै प्रदूषित् ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतका प्रदूषित् वायुका कारण वर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कले देखाएका छन् । – रासस/एएनआई

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार