अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

शनिबार, कात्तिक २७, २०७८

संयुक्त राष्ट्रसङ्घ, २७ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ । उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको बिवाह हुने गरेको तथा दाइजोका लागि बालिकाकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरुलाई दाइजोका रुपसमेतमा किनबेच हुने गरेका सूचना पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको छ । यहाँ सन् २०१९ मा १८३ ओटा बालबिवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ । युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर छ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ । एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ ।
महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी

अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकालाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ ।  अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन् ।  तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उहाँले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पार्नु भएको जनाइएको छ । 
तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकालाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताले पनि स्विकार गरेका थिए । 
महिलाले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्नेलगायतका नियम लगाएका थिए । 
तालिवान नेताले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ । तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरुले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । 
अन्य देशले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्रीबीचको बैठक भएको छ । 
त्यही बैठकका लागि अफगान विदेशमन्त्री पाकिस्तान आएका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उनी पाकिस्तान आएका हुन् । पाकिस्तान भ्रमणका क्रममा उनले अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका थिए । 
तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।
पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञसँगै उनी पनि बैठकमा बसेका थिए । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो ।  
तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक, सहयोगी हँुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधि बैठकमा सहभागी भएका थिए ।–रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार