इथियोपियाको सरकारद्वारा संयुक्त राष्ट्रसङ्घका अर्का एक कर्मचारी नियन्त्रणमा

शनिबार, कात्तिक २७, २०७८

संयुक्त राष्ट्रसङ्घ, २७ कात्तिक । संयुक्त राष्ट्रसङ्घले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारी यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीले नियन्त्रणमा लिएका थिए ।
ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसङ्घका अधिकारीले पहल गरिरहेको जनाएका छन् । तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ । यसअघि पनि संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसङ्घले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन ।
इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रक पनि इथियोपियाको सरकारी सुरक्षा निकायले नै नियन्त्रणमा लिएका जनाएको थियो ।
यसै हप्ताको सुरुमा ती ट्रक र ट्रक चालक तथा अन्य कर्मचारीलाई तत्कालै मुक्त गर्न राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ताले माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसका उपप्रवक्ता फराह हकले शुक्रबार पनि विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीलाई तत्कालै रिहा गर्न माग गरेका छन् ।    
उनले संयुक्त राष्ट्रसङ्घका नौ जना कर्मचारी यसअघि नै र शुक्रबार थप एकजनालाई इथियोपियाली सरकारले नियन्त्रणमा लिएको बताए ।
इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ । टिग्रेका नागरिकका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । संयुक्त राष्ट्रसङ्घले त्यहाँ पठाएका ती सामग्री र कर्मचारी सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुको खोजीकार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसङ्घले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् । 
इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहयता पठाएको थियो ।– रासस/सिन्हवा

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार