सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ, २५ कात्तिक । संयुक्त राष्ट्रसङ्घले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायले नै नियन्त्रणमा लिएका जनाएको छ । ती ट्रकमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । त्यहाँको सरकारले नै ती सहायता सामग्री नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन् । उनले ती ट्रकको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए । उनीहरुको खोजीकार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसङ्घले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताए । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहयता पठाएको थियो ।– रासस/सिन्ह्वा