सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुईजना वकील नियुक्त गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो । ट्रम्पले नियुक्त गरेका वकीलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकीलले विदा लिइसकेकाले थप दुई वकील राख्नु परेको हो । अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाई हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद् भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध महाधियोग प्रस्ताव अघि बढाएको छ । अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाईले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ । सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम छ । हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनु पर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।–एएफपी