जनगणना सफल बनाउन अध्यक्ष ओलीको आग्रह

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौँ, २५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् । 
पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका छन् । उनले आज जारी गरेकोसन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् । 

जनगणनामा सही विवरण टिपाउन मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणनाका लागि आउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । 
आज अपिल जारी गर्दै उहाँले सही तथ्याङ्कले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका छन् । 
देशले सङ्घीय शासन प्रणाली अङ्गालेपछिको यो पहिलो जनगणना भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यसपटकको जनगणनाको खास महत्व रहेको बताए । 
प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली रहेको र प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान नभएको भन्दै उनले २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो तथ्याङ्क नरहेको उल्लेख गरेका छन् । 
विसं २०६८ मा राज्यको पुरानो संरचनाअन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै उपयोग गरेर वर्तमानसम्म आइपुगेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अपिलमा यस जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक नमूनामा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउने र यो खुसीको कुरा भएको बताएका छन् । 
प्रदेशको जनसङ्ख्या कति, कुन कुन जातिको बसोबास, कुन धर्म र संस्कृतिका मानिस कति, कुन भाषा बोल्ने मानिसको बाहुल्यताजस्ता विषयका साथै सामाजिक बहिस्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक लोपोन्मुख महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्थालगायतका विषयमा यस जनगणनाले छर्लङ्ग पार्ने मुख्यमन्त्री पोखरेलले अपिलमा भनेका छन् । 
यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जनगणनाको तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षक सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।
जनगणनाका क्रममा टिपाएका तथ्याङ्क गोप्य रहने उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङ्ग गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने बताउनुभएको छ । आफूले टिपाएको विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले द्विविधा लिनु नपर्ने बताउँदै उनले आफ्ना घरमा तथ्याङ्क सङ्कलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका  छन् । “गणकले सोधेका सबै प्रश्न धैर्यपूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु”, अपिलमा भनिएको छ । केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गरेका छन् । 

सही विवरण टिपाएर गणकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको अपिल

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबारदेखि सुरु हुने जनगणनामा गणकलाई सही विवरण टिपाएर सहयोग गर्न अपिल गरेका छन् ।    मुलुकले सङ्घीय शासन प्रणाली अङ्गालेपछि पहिलोपटक भइरहेको यो जनगणनाले प्रदेशस्तरीय विकास एवं नीति निर्माणमा विशेष महत्व राख्ने भन्दै उहाँले अभियान सफल पार्न सर्वसाधारणलाई अपिल गरेका हुन् । 
आज अपिल जारी गर्दै मुख्यमन्त्री शाहीले गणकलाई टिपाएका विवरण गोप्य रहने र गोपनीयता भङ्ग गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने हुँदा ढुक्क भएर पारिवारिक तथा वैयक्तिक विवरण दिन आग्रह गरेका छन् । 
मुख्यमन्त्री शाहीद्वारा जारी अपिलमा भनिएको छ, “प्रदेश सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो, प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो अध्ययन भएको छैन, अहिले पनि प्रदेशमा आफ्नै तथ्याङ्क छैन, यसपालिको जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ, यो खुसीको कुरा हो ।” 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार