सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था एवं सम्बद्ध सबैमा आह्वान गरेकी छन् । राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै आज दिएको सन्देशमा राष्ट्रपतिले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् । “ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीका लागिसमेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रूपमा सफल तुल्याउनुपर्दछ”, सन्देशमा उनले भनेकी छन् । आजदेखि सुरु भई आगामी मङ्सिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्न केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणक खटाएको छ ।
जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपतिको अपिल उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशबासीलाई अनुरोध गर्नुभएको छ । राष्ट्रिय जनगणना प्रारम्भको अवसरमा आज सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेका हुन् । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजदेखि प्रारम्भ हुँदैछ । जनगणना आजदेखि सुरु भई मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसङ्ख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसङ्ख्या यसैबाट प्राप्त हुने उपराष्ट्रपतिले बताएका छन् । “जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो”, उनले भनेका छन् । उनले नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व रहेको बताए । उपराष्ट्रपतिले जनगणनाका लागि घर आँगनमा आउने गणकलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपिलसमेत गरेका छन् । उनले राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण सङ्कलन गर्न सम्पूर्ण गणकलाई आग्रह गरेका छन् ।–रासस