राष्ट्रिय जनगणना २०७८ : धेरै खर्च, लामो प्रश्नावली

बुधबार, कात्तिक २४, २०७८

धनगढी, २४ कात्तिक  :  नेपालमा १२औं राष्ट्रिय जनगणना बिहीबारदेखि सुरु हुँदै छ । केन्द्रीय तथ्याङ्क विभागले गणनाको तयारी पुरा गरिसकेको जनाएको छ ।   बिहीबारदेखि हुने जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औं जनगणना करिब डेढ अरब खर्च भएको थियो । तर, यस पटक ४ अरब खर्च हुने अनुमान गरिएको छ । खर्च बढ्ने पहिलो कारण यस पटक पुरा तलब दिएर गणकलाई खटाइएको छ ।  ११औं सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो । शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो ।

तर, यस पटक तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पुरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।  जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुने छ । केन्द्रीय तथ्याङ्क विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यस पटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पुरा भत्ता दिइने छ । जस कारण यस पटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ । तथ्याङ्क विभागले यसपटक जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ ।  

यसैगरी यस पटकको राष्ट्रिय जनगणनामा अघिल्लो जनगणना भन्दा धेरै प्रश्न समावेश गरिएका छन् । यस कारण पनि यो जनगणना खर्चिलो हुने छ । १२औं जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् । लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क संकलन गर्न धेरै समय लाग्ने छ ।   यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताए । ‘विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ,’ उपसचिव रेग्मीले भने,‘तर नेपालमा धेरै कुरा गणनाबाट नै संकलन गरेर तथ्याङ्क संकलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, बिस्तारै प्रश्नावली संख्या घटाइने छ ।’  उनले यसपटक ४० हजार युवावुवतीले रोजगारी पाउने बताए । '११औं जनगणनासम्म शिक्षकलाई नै गणकका रूपमा परिचालन गर्दा अन्यले रोजगारी पाउँदैनथे,’ उनले भने,‘तर यस पटक शिक्षक लाई खटाइएको छैन, जसका कारण ४० बजार बेरोजगारले आंशिक रोजगारी पाएका छन् ।'

तनहुँमा खटिँदै छन् ४९० गणक

बिहीबारदेखि देशभर राष्ट्रिय जनगणनाा सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणनाअन्तर्गतको मुख्य जनगणना बुधबार सुरु भएर ९ मंसिरमा सकिनेछ । तनहुँमा राष्ट्रिय जनगणनाको १२औँ शृंखलाको मुख्य गणनाको तयारी पूरा भएको छ । जिल्लामा ४९० गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्ने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताए । उनका अनुसार संस्थागत घरपरिवारको गणना गर्न छ जना खटिनेछन् । ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर पठाएका छौँ । उनीहरू गणनाका लागि तम्तयार छन्’, उनले भने । एक जना गणकले औसतमा २०० घरमा पुगेर जनगणना फारम भर्नेछन् । ‘फारम भर्नलाई ५२ वटा मुख्य प्रश्न सोधिनेछ’, उनले भने । गणनाका लागि २० मिनेट समय लाग्ने जनाइएको छ ।

जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरिएको थियो । घर सूचीकरण गर्न तनहुँमा १२० जना सुपरिवेक्षक खटिएका थिए । सुपरिवेक्षकले जिल्लाका ९१ हजार घर सूचीकरण गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा यहाँ झण्डै १३ हजार घर थपिएको प्रारिम्भक तथ्यांकले देखाउँछ । 

२०६८ सालको जनगणनामा जिल्लामा ७८ हजार ३०९ घर सूचीकरण गरिएको थियो । उक्त जनगणनाअनुसार तनहुँमा तीन लाख २३ हजार २८८ जनसंख्या छ ।

जिल्लाका पाँच स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । दुलेगौँडा, भिमाद, दमौली, डुम्रे र आँबुखैरेनीमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको हो । 

संखुवासभामा जनगणनाका लागि २४५ गणक

राष्ट्रिय जनगणनाका लागि संखुवासभामा २४५ गणक खटाइएको जिल्ला जनगणना कार्यालय संखुवासभाले जनाएको छ । भोलि अर्थात् २५ कात्तिकदेखि हुने राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय संखुवासभाका प्रमुख पुस्कर गुरागाईंले जानकारी दिए ।

पहिलो चरणमा संखुवासभामा ६५ जना सुपरिवेक्षकले घर तथा घरपरिवार सूचीकरण गरिसकेको प्रमुख गुरागाईंले बताए । जनगणनालाई प्रभावकारी बनाउन खाँदबारी, चैनपुर र नुममा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

२४५ गणक गाउँगाउँमा खटाइसकेको प्रमुख गुरागाईंले बताए । गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार