म्यान्मारमा सैनिक ‘कु’

नेतृ आङ सान सू ची सेनाद्वारा गिरफ्तार
सोमबार, माघ १९, २०७७

यांगुन । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको छ । 
सेनाले सत्ता हत्याउने आशंकामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।
अन्य पनि पक्राउमा
पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै ‘लगिएको’ बताएका छन् । ‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु’ उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।
बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन् ।
सडकमा सेनाको उपस्थिति
बीबीसीका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् । सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।–एजेन्सी 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार