बाढीपहिराले मुहान बगाउँदा डोटी सदरमुकाम फोहर पानी पिउन बाध्य 

बुधबार, कात्तिक २४, २०७८

डोटी, २४ कात्तिक : बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा स्थानीयवासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ ।
जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिए । यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन् । गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न भएको हो । पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिए ।
जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताउनुभयो । वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन् ।
घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासी बताउँछन् । खानेपानीका लागि बिहान ३÷४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताइन् । उनले भनिन्, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई÷तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ ।
पानीका मुहान सुक्न थालेपछि यहाँको खानेपानी तथा सरसफाइ उपभोक्त समितिले दिनमा एकपटकमात्रै पानी वितरण गर्न थालेको छ । पानी नआउँदा यहाँका होटल व्यवसायीलाई होटल सञ्चालन गर्न निकै कठिन भएको पातली होटल दिपायल पिपल्लाका सञ्चालक मोहन पातलीले बताए । उनले भने, “धारामा पानी आउँदैन, ग्राहकलाई खाना खुवाउन पनि समस्या भएको छ ।” होटलमा पानीको समस्या उत्पन्न भएपछि यहाँका कतिपय होटल व्यवसायी गाडी रिर्जभ गरेर खोला तथा नदीको पानी ल्याएर काम चलाउन थालेका छन् । नजिकै सेती नदी भए पनि नदीमा अहिलेसम्म बाढीका कारण धमिलो पानी बगिरहेकाले प्रयोग गर्न नसकिएको स्थानीयवासीको भनाइ छ ।–रासस  
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार