म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकता : राष्ट्रसङ्घ

मंगलबार, कात्तिक २३, २०७८

म्यानमारका ३० लाख मानिसलाई “जीवन जोगाउने” सहयोगको आवश्यकता ः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, २३ कात्तिक  । संयुक्त राष्ट्रसङ्घले म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको जनाएको छ । राष्ट्रसङ्घीय अधिकारीले म्यानमारमा सैनिक शासन लागूभएपछि मानवीय सङ्कट थप फैलिएको जनाएका छन् । 
राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी प्रमुख मार्टीन ग्रिफिथसले सैनिक नेतृत्वले जवरजस्ती शासन लागू गर्ने, द्वन्द्व बढ्दै जाने र आर्थिक सङ्कट बढ्ने गरेकाले मानवीय सहायताको आवश्यकता पनि बढेको उल्लेख गरे ।
म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक नेतृत्वले चर्चित नेतृ आङ साङ् सुकीसहित तत्कालिन सरकार र राजनीतिक दलका अगुवालाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको थियो । 
शान्तिपूर्ण निकासको प्रयास नभएको र अन्त्यहिन द्वन्द्व भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको उनले बताए । मानवीय सहायत प्रमुख मार्टीनले म्यानमारका मर्कामा परेका जनतालाई तत्काल सहयोग उपलब्ध गराउन सबैलाई आह्वान गरेका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउन भन्दै सत्ता कब्जा गरेर सङ्कटकालसमेत घोषणा गरेको थियो ।  गत सोमबार म्यानमारमा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । सो निर्वाचनलाई अन्तरराष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रिय निर्वाचन आयोग र निर्वाचन अधिकारीसमेतले निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित भएको जनाएका थिए । 
म्यानमारको सेनाले भने निर्वाचनमा धाँधली भएको दाबी गर्दै निर्वाचन आयोग समक्ष उजुरीसमेत गरेको थियो । तर आयोगले सेनाको दाबी आधारहिन भएको जवाफ दिएको थियो ।  संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजरिकले पनि स्वदेशी तथा विदेशी पर्यवेक्षकसमेतले निश्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन भएको बताएकाले सेनाको आरोप गलत भएको उल्लेख गरे । सेनाले निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सत्ता कब्जा गरेपछि म्यानमारसँग अन्तरराष्ट्रिय सम्वन्ध पनि विग्रिएको छ । कतिपय अन्तरराष्ट्रिय दाताले आफ्नो सहयोग रोक्का गरेका छन् । त्यसैले पनि थप मानवीय सङ्कट उत्पन्न भएको राष्ट्रसङ्घको भनाइ छ ।–रासस/एपी

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार