सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा

सोमबार, कात्तिक २२, २०७८

फ्रिटाउन, २२ कात्तिक : सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो । यही सोमबार, मङ्गलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिबार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।  राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उनले घटनाका बारेमा निश्पक्ष छानबिन गरी दोषीलाइ कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । “हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नु पर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनु पर्ने उपायहरु अपनाउनुपर्दछ,” उनले भने ।   अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।  शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भिड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार