सोसल मिडिया
Contact Us
युनिकोड
आदेन । यमनको दक्षिणी शहर आदेनको एक अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो सङ्ख्याका मानिस घाइते भएका छन् । घाइते भएकालाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोही यस्ता हिंसामा सङ्लग्न भइआएकोले सुरक्षा निकायले सोही समूहमाथि नै आशङ्का गरेका छन् । उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीले जनाएका छन् । मारिब शहर यमनका विद्रोहीको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगतरुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ । तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीको कब्जामा रहेको छ । समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायःहुथीले नै कब्जा गर्ने गरेका छन् ।
बग्दादमा ३ वटा रकेट अवतरण
बग्दाद । इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतबार तीन वटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन । बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण गरिएका थिए । स्रोतले सिन्ह्वालाई जनाएअनुसार उक्त रकेटहरूमध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल–जैटौन स्ट्रीट नजिक र तेस्रो अल–अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए । आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ । रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउन भने असफल भएको छ । ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरू पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रायस गरिरहेका छन् । करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ ।– रासस/सिन्ह्वा