सोसल मिडिया
Contact Us
युनिकोड
दाङ : दाङमा पुतलीको प्युपाले वन क्षेत्रमा क्षति पुर्याउन थालेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ शिवपुर क्षेत्रमा रहेका सामुदायिक वनमा यही असोज/कात्तिक महिनामा प्युपाले क्षति पुर्याएको हो ।
गएको चैत/वैशाखमा डढेलोबाट बचाएको वन अहिले प्युपाले सखाप पारेको शिवपुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता टेकन योगीले जानकारी दिए । उनका अनुसार रुखका सबै पात प्युपाले खाएको छ ।
त्यस क्षेत्रमा रहेका चारवटा सामुदायिक वनमा एक महिनादेखि ल्युकोमा सेलेसिस प्रजातिको पुतलीको प्युपाले ९१ हेक्टर क्षेत्रफलका आठ हजार बढी सालका रुखका पात खाएको अनुमान छ ।
शिवपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्त रोकाका अनुसार एक महिनाअघि नै प्युपा देखिएको थियो । पुतली भनेर वास्ता नगरेको तर अहिले वन नै सखाप पारेको उनको भर्ना छ ।
डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको संघ र प्रदेशको टोलीले प्रभावित क्षेत्रमा पुगेर अनुसन्धान र क्षतिको विवरण संकलन गरेर फर्किएको छ ।
सबैभन्दा बढी शिवपुर सामुदायिक वन क्षेत्रमा ६१ हेक्टर र जनज्योति, हिङाली महिला, सूर्यज्योति सामुदायिक वनको ३० हेक्टर क्षेत्रफलमा प्रभावित पारेको छ । उपभोक्ताले विषादी राख्ने र प्युपा टिप्दै खाल्डोमा पुर्ने गरेका छन् ।