सोसल मिडिया
Contact Us
युनिकोड
रोम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन् । भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफूहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताएका छन् । सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भए पनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका बीचमा गरिबी हटाउनेदेखि जलवायु परिवर्तनका विरुद्धमा लड्नेसम्मका विषयमा गहिराईमा छलफल भएको बताइएको छ । भारतका प्रधानमन्त्री मोदी र क्रिश्चियन धर्मगुरु फ्रान्सिसका बीचमा पहिलो पटक भेटवार्ता भएको हो । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका प्रधानमन्त्री र क्रिश्चियन धर्मका गुरु फ्रान्सीसबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । उनीहरूको भेटले धार्मिक सहिष्णुता बढाउने र धार्मिक द्वन्द्व न्युनिकरण गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । भारतको हिन्दुवादी पार्टीका रूपमा चिनिएको भारतीय जनता पार्टीका शीर्ष नेतासमेत रहेका मोदीले भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६ औँ पोपको रुपमा सन् २०१३ को मार्च १३ मा निर्वाचित पोप फ्रान्सिसलाई भेटेका हुन् । इटलीको रोममा शनिबारदेखि सुरु भएको जी–२० मुलुकहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका बेला उनले फ्रान्सिसलाई भेटेका हुन् । प्रधानमन्त्री मोदी यही अक्टोवर २९ मा सुरु भई ३१ सम्म चल्ने जी २० शिखर सम्मेलनमा सहभागी भएका थिए । सम्मेलनका क्रममा उहाँले अन्य देशका शीर्ष नेताहरुसँग पनि दुई पक्षीय तथा बहुपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ । भेटका क्रममा कोरोनाभाइरसको महामारी, त्यसको असर, आपसी सहकार्य र सहयोगका बारेमा छलफल हुने जनाइएको छ । सम्मेलनमा सहभागी हुन मोदी शुक्रबार इटली आइपुग्नु भएको हो भने आइतबार इटली भ्रमण अन्त्य गर्ने भ्रमण तालिका रहेको छ ।– रासस/एएनआई