ओलीका कारण न्यायालयमा समस्या : माधव नेपाल

शनिबार, कात्तिक १३, २०७८

विराटनगर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालयमा समस्या देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्धमा महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको उनको भनाइ थियो । ९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए । संसद् विघठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

'ओलीले जे पायो त्यही बोलिरहरनु भएको छ, त्यो उहाँको कुन्ठा बोलेको हो', अध्यक्ष नेपालले भने, 'अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलै देखीको बानी हो ।' 

ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेकाे नेपालकाे भनाइ थियो । भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडै राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने उनकाे दाबी छ । 

कांग्रेससँग तपाइँहरूको आधाआधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सन्चाकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए । कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्काे प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।

न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधन दिनुपर्ने बताए । 

कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने उनले बताए । 'न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षप गर्दा व्यवस्थामा खतरा हुन्छ,' उनले भने,  'संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानकाे भावना र मर्म अनुसार चल्नुपर्छ ।' 

स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनले बताए ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतकै न्यायाधीश र नेपाल बार एसाेसिएसनले राजीनामा माग गरिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार