नेकपा एकताका लागि वामदेव सक्रिय

भन्छन, ‘दुई कम्युनिस्ट मिल्दा पहिलो भएका हौं, टुक्रँदा कहाँ पुग्छौं मनन् होस’
बिहीबार, माघ १५, २०७७

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी मिलेर मात्रै आफूहरुले विगतको निर्वाचनमा बहुमत प्राप्त गरेको कुरालाई नभुल्न आग्रह गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा उपाध्यक्ष गौतमले भने, ‘नेकपा एकीकृत भएपछि गरिएको निर्वाचनमा आफूहरुले ४२ लाख मत प्राप्त गरेको हौं । कांग्रेले एकलरुपमा ३० लाख मत प्राप्त गरेको छ । यो तथ्य भुलेर निर्वाचनमा जाँदा आफूहरुले पराजय निश्चित छ ।’ 
नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गर्दै भने, ‘पार्टी व्यावहारिक र राजनीतिकरुपमा फुटे पनि कानूनीरुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ । म पार्टीलाई एक गराएरै छाड्छु ।’ तीन वर्ष पहिले कम्युनिष्ट पार्टी एकीकृत हुँदा संसारलाई तरङ्गीत बनाएको तर आज फुटको अवस्था सिर्जना हुँदा ज्यादै पीडा महसुस भइरहेको उनको भनाइ थियो । झण्डै दुई तिहाइ बहुमत प्राप्त पार्टीको सरकार आज विभाजनको अवस्थामा पीडा भोग्नु परेको बताउँदै उनले अब पुनः पार्टीलाई जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विगतमा आफूहरुले पार्टी बनाउन १३ वर्ष सङ्घर्ष गरेको बताउँदै उपाध्यक्ष गौतमले अब जति वर्ष समय खर्च भए पनि मिलाएरै छाड्ने उनले बताए ।    नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेको उनको आरोप थियो । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नाँै’ र अर्काे थरीका नेता  ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’, भनेर हिँड्नु उचित नभएको गौतमको तर्क थियो । जनताको साथ लिएर समाजवादको बाटो निर्माण गर्न आफू लागि पर्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्री ओली र नेता दाहालका केही नजिकका व्यक्तिबाहेक अरु एकताका पक्षमा छन् ।’ नेकपा पार्टीभित्र भएको आरोपप्रत्यारोपका कारण जताततै गालीगलौज र आलोचना मात्रै सुनिने गरेको उनले बताए । 
पहिलो पुस्ताका नेता पार्टीमा नमिले पनि दोस्रो–तेस्रो पुस्ताका नेतालाई एकजुट भएर अघि बढ्न गौतमको आह्वान छ । आफ्नो भित्री इच्छा संसद् पुनःस्थापना होस भन्ने नै रहेको पनि उनले जानकारी दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुलीले पार्टी विभाजन भएर चुनावमा गए जनतालाई मतदान बहिष्कार गर्न आग्रह गरे । उनले भने, ‘पार्टी विभाजनको यो चरणमा हामीले एकताबद्ध भएर अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई मित्रतापूर्ण सुझाव र अभिव्यक्ति दिनुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार