सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । जर्मनीले बेलायत र फ्रान्सलाई बेलायतको युरोपेली सङ्घबाट बाहिरिने निर्णय (ब्रेक्जिट) का कारण माछा मार्ने अधिकारमाथि झन् तिक्तता उत्पन्न नहुने गरी समाधान खोज्न आग्रह गरेको छ । जर्मनीकी विदेश मन्त्रालयकी एक प्रवक्ताले सञ्चारकर्मीहरूसँग भनिन्, “जर्मनीले यस विवादलाई नजिकबाट हेरिरहेको छ र ‘यस मामिलासित सम्बन्धित विशिष्ट विषयहरू स्पष्ट पार्न’ युरोपेली आयोगको प्रयासलाई समर्थन गरेको छ ।” उनले भनिन्, “हाम्रो दृष्टिकोणबाट, अहिले दुवै पक्ष विगतको वार्तामा फर्कनु महत्वपूर्ण छ ।” बेलायत र ‘च्यानल द्वीप’ वरपरका पानीमा सञ्चालन गर्न चाहने युरोपेली सङ्घका डुङ्गाहरूका लागि लाइसेन्स नियमहरूमाथि लण्डन र पेरिसबीच तनाव बढिरहेका समय जर्मनीको यो भनाइ आएको हो । रक्षा तथा विदेशी मामिलाका लागि लन्डनमा निर्भर रहेका बेलायत र स्वशासित द्वीपहरू जर्सी र ग्वेर्नसेले आफ्ना केही जहाजहरू अस्वीकार गरेकोमा फ्रान्सले बेलायतीसँग विरोध जनाएको छ । फ्रान्सेली माझीहरूको भनाइअनुसार धेरैलाई बेलायती पानीको लागि लाइसेन्स प्राप्त गर्नबाट टाढा राख्न ब्रेक्जिटलाई बहानाको रूपमा प्रयोग गरिँदैछ । फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सले यस असहमतिलाई सुल्झाउन वार्ता सुरु गर्ने प्रस्ताव राखेको घण्टापछि बेलायतले माछा मार्ने अधिकारमाथि गरिएको ‘चेतावनी’ व्याख्या गर्न फ्रान्सेली राजदूतलाई आह्वान गर्दा बिहीबार यो थुक झनै चर्कियो । ईयूका प्रवक्ताले विवाद मिलाउन बेलायत र फ्रान्ससँग छिट्टै वार्ता हुने बताएका छन् ।– रासस/एएफपी