छियाछिया मोटरमार्ग, यात्रुलाई सास्ती

शुक्रबार, कात्तिक १२, २०७८

तनहुँ :  गएको असार साउनमा वर्षासँगै आएको बाढीपहिरोले ढोरवाराही मोटरमार्गको सडक छियाछिया बनाएको छ । दुलेगौँडादेखि साँखेसम्मको ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको सडक समयमा मर्मत सम्भार नहँुदा कष्टकर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु । 

तनहुँलाई स्याङ्जाको ग्रामिण भेगसँग जोड्ने प्रमुख सडक हो यो । दुलेगौँडा बजारदेखि स्याङ्जाको हरिनास गाउँपालिका, विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका ग्रामिण भेगमा यहीँ मोटरमार्ग भएर सवारी साधन आउजाउ गर्छन् । शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राईपुर र फिरफिरेका गाउँगाउँका सर्वसाधारणले सवारी यात्रा गर्ने सडक हो । 

गाउँगाउँ पुग्ने प्रमुख सडकको दुलेगौँडा बजारबाट नजिकै पुल्चोकदेखि सुरु भएको पहिरो गाउँगाउँसम्म छ । साँघुरो सडक त्यै माथि पहिरोले ठाउँठाउँमा भत्किँदा कालोपत्रे सडकमा पनि कष्टकरपूर्ण यात्रा गर्नुपरेको यात्रुहरूको गुनासो छ । बाढीपहिरोले सडक भत्किएको मात्र छैन्,  कतै नाला पुरिएका छन् । खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुँदा सडकमै पोखरी बनेको छ ।  सडकको बीचमा दुर्घटनाको पासो थापेजस्तै खाल्डाखुल्डी छन् ।

स्वास्थ्य उपचार होस् या किनमेल । स्थानीय कृषि उपजलाई बिक्री वितरण गर्न पनि बजार पुग्नैपर्छ । तर, सडकका सबै अवरोध छिचोलेर गाउँबाट बजार पुग्न निकै कष्टकर हुने यात्रु कमला पोखरेल बताउँछिन् । 

‘अफ्ठ्यारो सडकमा यात्रा गर्दा समयमा पुग्न सकिँदैन । जोखिम पनि छ’, उनले भनिन् । बेलाबेलामा सडकको नाला सरसफाइ र मर्मतसम्भार भइरहे सडकमा कम क्षति हुने उनको भनाइ छ । ‘बाटो खनिन्छ मात्र स्तरोन्नति हुँदैन । खन्ने बजेट पार्ने, मर्मत स्तरोन्नति गर्ने काम नहुने चलन छ’, उनले भनिन् । सडक कालोपत्रे भएपछि मर्मत सम्भारमा ध्यान नपुगेको उनले बताइन् । 

कन्तविजोग अवस्थामा रहेको सडकमा भगवान पुकार्दै सवारी चलाउनु परेको सवारी चालक राम बस्याल बताउँछन् । सडकसँगै नालाको मर्मत र सरसफाइमा चासो नदिँदा ज्यानको बाजी लगाएर सवारी चलाउनु परेको उनले बताए ।

ढोरबाराही मोटरमार्ग हुँदै ज्याग्दी करिडोरबाट लुम्बिनी प्रदेशसँग गण्डकी प्रदेशलाई जोड्ने भएकाले यो केन्द्रीय महत्वको सडक हो । तर, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा भत्किएको सडक अलपत्र छ । समयमै मर्मत हुन सकेको छैन ।

यो सडकका लागि गत आर्थिक वर्षमा सडक बोर्ड अन्र्तगत ६४ लाख रुपैयाँ बजेट आएको थियो । उक्त रकमले सडक मर्मतका लागि ट्रेन्डर आह्वान गरी ठेक्का सम्झौता भइसकेको शुक्लागण्डकी नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र भण्डारी बताउँछन् । ‘निर्माण कम्पनीले एकपटक कार्यस्थलको निरीक्षण गरिसकेको छ । अब छिट्टै काम सुरु गर्छ होला’, उनले भने ।

प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन नगर्दा स्थानीय सरकारको बजेट पर्याप्त नदेखिएको वडा अध्यक्ष भण्डारीको भनाइ छ । ‘वडाले नगरले एउटै सडकलाई ठूलो रकम विनियोजन गर्न सक्ने अवस्था छैन । नगरले आफू सक्दो गरेको छ । प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी देखिन्छ’, उनले भने । 

नगरपालिकाले सडक मर्मत गर्न बिनु कन्ट्रक्सन प्रालि कास्कीलाई ठेक्का दिएको छ । गत १८ साउनमा ४५ लाख ४१ हजार नौ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर तारापती भट्टराईले जानकारी दिए । 

ठेक्का अन्तर्गत ढोरवाराही खोलामा स्ल्याब कल्भर्ट निर्माण हुनेछ । भट्टराईका अनुसार भत्किएको कालोपत्रे सडक मर्मत र ग्याविन नाला निर्माण पनि गरिनेछ । यही कात्तिक मसान्तसम्म काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, कात्तिकको दोस्रो सातासम्म जिम्मा लिएको निर्माण कम्पनीले काम गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार