सोसल मिडिया
Contact Us
युनिकोड
सोलुखुम्बु : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको शुक्रबार उद्घाटन गर्दै आईजीपी थापाले समाजमा शान्ति सुरक्षा बहाल राख्दै नागरिकको वैयक्तिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व प्रहरीको भएको उल्लेख गरे ।
प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षाका खातिर चुनौतीको सामना गर्दै हर प्रहर ड्यूटिमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने र स्वस्थ कार्य वातावरण निर्माण भई सेवा प्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै आईजीपी थापाले भने, 'नव निर्मित भवनको उपभोगबाट यहाँ कार्यरत प्रहरीहरूको बसाइँ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु ।'
उनले देशीविदेशी हरेक मानव जातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने चर्चा गर्दै निकुञ्जबाट हुन सक्ने अवैध चोरीनिकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनु पर्नेमा जोड दिए ।
उद्घाटन पश्चात उनले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गर्नुको साथै प्रहरी कार्यमा सहयोग गर्नेहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरे ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले भौतिक सुविधाले प्रहरी कर्मचारीको थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।