सोसल मिडिया
Contact Us
युनिकोड
रियाद । यमनमा राष्ट्रसङ्घद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक सहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ । साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र सहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् । इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनीतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ । यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालीन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा उनका अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिए पनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्वराष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् ।–रासस/एएफपी