ओलीविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दर्ता

मंगलबार, माघ १३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मंगलबार मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेको निवेदन मंगलबार दर्ता भएको हो । प्रधानमन्त्रीविरुद्ध चारवटा निवेदन आएको बताइएको छ । निवेदनमा प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यंग्य गरेका थिए । ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिएको हो, बूढा मान्छेलाई’  ओलीले भनेका थिए । कानुन व्यवसायीलाई संविधान र कानुनले दिएको विशेषाधिकारको सबैले सम्मान गर्नुपर्ने निवेदनमा भनिएको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ ।  आरोप पुष्टि हुनुअघि नै क्षमा मागे अदालतले अवहेलनाको कारबाही स्थगन गर्न सक्छ । यसैबीच,पूर्व प्रधानन्यायाधीशहरू र पूर्व सभामुखविरुद्ध पनि अवहेलनको मुद्दा दर्ता भएको छ । पूर्व प्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरुलाई थुत्न सक्ने अवस्था आउने बताएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार