रसुवामा सेवाग्राहीको चाप बढेपछि सवा ६ बजेसम्म सेवा प्रवाह 

मंगलबार, कात्तिक ९, २०७८

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको छ । नेपालीहरूको महान चाड बडादसैँै सकिएर कार्यालय खुलेसँगै नागरिकता र राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको हो ।  सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । डिभी भर्न र वैदेशिक रोजगारको लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको उनले बताए । सेवाग्राहीको चाप बढेपछि बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए । ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनु भएको हुन्छ । कार्यालय समयावधि सकिएपनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ’, उनले भने । पछिल्लो समय दैनिक सयभन्दा बढी सेवाग्राही कार्यालयमा आइरहेका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् । ‘दैनिक सयभन्दा बढी सेवाग्राही आइरहनु भएको छ । नागरिकता, पासपोर्ट बनाउने धेरै छन्’, उनले भनिन् । कार्यालयले १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र बाँकी महिना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार