उत्तर सिक्किममा भारत–चीनका सैनिकबीच भिडन्त

केही सैनिक घाइते
सोमबार, माघ १२, २०७७

नयाँदिल्ली । चीन र भारतका सैनिकबीच विवादित सीमामा फेरि संघर्ष भएको छ । दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । सो संघर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ । सीमाक्षेत्रमा भएका भिडन्तपछि दुई देशबीच तनाव बढिरहेको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले आफ्ना सैनिक हताहतिबारे केही बोलेका थिएनन् 
तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नाथुला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ । भारतीय सेनाले नाथुला क्षेत्रमा जनवरी २० मा ‘मामुली घटना’ भएको र त्यो ‘स्थानीय सैन्य कमाण्डरहरूले प्रचलित प्रक्रिया अनुरूप सुल्झाएको’ बताएको छ । चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन । सिक्किम क्षेत्र भुटान र नेपालबीच पर्छ । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ । मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए । भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन् । 
सन् १९९६ को सहमतिअनुसार ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अर्थात स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन, विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्ने छैनन् ।’ यता लद्दाखमा सीमा विवाद बार्ताको नर्वौै श्रृंखला भइरहेका बेला सिक्किममा दुबै देशका सैनिकबीच भिडन्त भएको हो । आइतरबा मोल्डो क्षेत्रको कमाण्डर स्तरमा चीन–भारतका सैन्य अधिकारीबीच बार्ता भएको थियो ।–एजेन्सी 
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार