हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ  

आइतबार, कात्तिक ७, २०७८

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 
गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडाँैमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए  । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।
मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयाँ बनाउनुपर्ने भएकाले मृतकसँग ठेक्कामा लिनेदिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो । काम सुरु गर्न रु ४० हजार पेस्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ । सहमति भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीमध्ये मगरले कोदालोले दाहालको टाउकामा प्रहार गरेको र मृत्यु भएपछि दुवै जना मिलेर मृतककै घरअगाडि आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । उनीहरुलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

सामूहिक बलात्कार घटनाका फरार आरोपित र भगाउन सहयोग गर्ने पक्राउ
सिन्धुलीमा असोज ३० गते बिहानीपख भएको सामूहिक बलात्कार घटनाका फरार आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका छ मध्ये पाँच र उनीहरुलाई भगाउन सहयोग गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत असोज ३० गते नौजनाको समूहले तीन बालिकालाई कमलामाई नगरपालिका–५ लब्दा खोलाको बगर र बाँसको झ्याङमा सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजनालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । अरू छ जना घटनापश्चात् फरार भएकामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
पन्ध्र, १६ र १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोही दिन कमलामाई नगरपालिका–५ बोझे घर भएका २२ वर्षीया हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
साथै घटनापश्चात् फरार रहेका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मिलन लामा र विश्व राई फरार रहेका थिए । फरारमध्ये कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन र २१ वर्षीय मिलन लामालाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।
फरार रहेका आरोपित आकाश मगर बर्दिबासबाट भक्तपुरमा लुकिछिपी बस्दै आएकामा भक्तपुरमा खोजी गर्दा पुनः सिन्धुलीतर्फ आउँदै गरेको अवस्थामा कात्तिक ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट पक्राउ गरिएको उनले जानकारी दिए । घटनामा संलग्न फरार रहेका विश्व राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साथै घटनापश्चात आरोपितलाई भगाउन सहयोग गर्ने छ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई–५ बोजेका सञ्जीव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई–४ का शिव देवकोटा, कमलामाई–६ का मेघबहादुर श्रेष्ठ र  सर्लाहीको हरिवन–८ ईश्वर आलेलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।
आरोपित भगाउन प्रयोग भएको बा१०च १८३६ नंको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नंको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार