बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

आइतबार, कात्तिक ७, २०७८

सोलुखुम्बु । जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बन्नुभएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।
सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आउनुभएको थियो । यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता भएका थिए । उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।
एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् । उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् । खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एसोसिएसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए ।
बेपत्ता शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनका साथमा एकजना भाइ रहेका छन् । भाइको समेत गत वर्ष मात्रै मिर्गाैला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ । छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ । गाइडका साथमा जानुभएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ । 
मकालु आधार शिविरमा पर्यटकको मृत्यु
सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए । 
विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पुष्टि गरेको छ  । प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए । 

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार 
मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेको निरज कार्कीले बताए । 
आज दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुगेका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताए । मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताए । यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो ।–रासस 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार