सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज जनाएको छ । खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा रु आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्यूरोले जनाएको छ । गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हँुदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई कम्बोडियासमेत पु¥याएको फेला परेको छ । त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।
श्रममन्त्री दुबई प्रस्थान
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ । श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिले पनि सहभागी हुनेछन् । यही कात्तिक १२ गतेसम्म हुने डाइलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल छन् ।