नेकपा प्रचण्ड–माधव समूहद्वारा ओलीलाई पार्टी साधारण सदस्यबाट निष्काशित 

आइतबार, माघ ११, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गर्दै ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको हो । ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएपछि पनि उनले संविधान, लोकतन्त्र, राष्ट्रको नीति, राष्ट्र हितविरुद्ध गतिविधि गरेको र स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको उक्त समूहको भनाइ छ । ‘केपी ओलीलाई केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष पदबाट हटाएपछि पनि उहाँले संविधान, लोकतन्त्र, राष्ट्रिय नीति र पार्टी हितविरुद्ध लगातार गतिविधि गरेकाले उहाँलाई पार्टी हितविपरित किन काम गरेको भनी स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफ नदिएपछि आजको स्थायी कमिटी बैठकले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।’
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली खेमा र प्रचण्ड–माधव खेमामा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्काे समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् । ओली समूहले कुनै नेतालाई कारबाही नगरे पनि प्रचण्ड–माधव समूहले ओलीलाई कारबाही गर्ने निर्णय गर्दै आएको छ । 
त्यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार