प्रधानन्यायाधीशप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय

फुल कोर्ट बैठक पनि बहिष्कार गर्ने
आइतबार, कात्तिक ७, २०७८

काठमाडौं :  कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि (८ कात्तिक)देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले इजलास बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशले डाकेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) पनि बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसनसँग हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा सहमति गरेलगत्तै बसेको न्यायाधीशहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

सर्वोच्च अदालतमा उपलब्ध १४ मध्ये न्यायाधीश मनोजकुमार शर्माले मात्र बैठकमा फरक मत राखेका थिए । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशको पक्षमा कुरा उठाए पनि अन्य १३ न्यायाधीश एक पक्षमा भए पनि शर्मासमेत यो निर्णयमा सहमत भएका हुन् ।

आजको बैठकमा पाँच जना न्यायाधीशहरू भने उपत्यकाबाहिर भएका कारण उपस्थित थिएनन् ।

न्यायाधीश ईश्वर खतिवडा, सपना मल्ला प्रधान, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र कुमार चुँडाल भने उपत्यकाबाहिर भएका कारण बैठकमा अनुपस्थित थिए । 

बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार