सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । रूसी जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिलाई गिरफ्तार गरिएको छ । रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको हो । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रूसीका ६० सहरमा भएको बताइएको छ । शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी पत्नीसहितका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ । रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिना पहिले रूसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउनेक्रमा अकस्मात विरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो । पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उनलाई गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले दावी गरेका छन् । करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फिर्ता भएका थिए । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको हो ।
नाभाल्नीसँग किन डराएको छ रुस ?
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता पनि हुन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भए । गत अगस्टमा ४४ वर्षीय नाभाल्नीलाई स्नायु विषको हमला भयो । त्यसका लागि उनले पुटिनलाई दोषी मान्छन् । क्रेमलिनले संलग्नता अस्वीकार गर्छ । तर नाभाल्नीको आरोपलाई केही खोज पत्रकारहरूको अनुसन्धानले सही भएको देखाउँछ । लामो समयसम्म नाभाल्नीलाई रुसी अधिकारीहरूले वास्तै गरेनन् । उनी मात्र एक ब्लगर थिए । केहीले उनलाई पढ्थे । तर हालैका घटनाहरूले अर्काे चित्र देखाउँछ । पहिले नाभाल्नीलाई स्नायु विष दिएर मार्ने कोसिस गरियो । रुसले विषको बारेमा अनुसन्धान गर्नेभन्दा उनलाई गिरफ्तार गरेको छ । नाभाल्नीलाई जेल हालेपछि अधिकारीहरू उनका समर्थकहरूलाई दबाव दिइरहेका छन् । क्रेमलिनको सबैभन्दा ठूलो डर भनेको सत्ता परिवर्तन हुनसक्ने जनआन्दोलनको हो । अहिले त्यस्तो हुने देखिएको छैन तर रुसको आर्थिक समस्या बढ्दो छ । कुनै बेला नागरिकको परिवर्तनको केन्द्र विन्दुमा नाभाल्नी हुन सक्छन । अनि अब यो व्यक्तिगत झगडा बनेको छ । नाभाल्नीले पुटिनको दरबार भन्ने भिडिओ सार्वजनिक गरेका छन् । जसमा उनले पुटिनले गैरकानुनी ढङ्गले खर्बाैं पर्ने सम्पत्ति थुपारेको आरोप लगाएका छन् ।
गिरफ्तारीको घटनाक्रम महिनौँपछि जर्मनीबाट मस्को फर्किएका नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको हो । ‘म सही छु भन्ने मलाई थाहा छ । मलाई कुनै डर छैन’, मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नाभाल्नीले भनेका थिए । यसअघि आइतवार उनको विमान अवतरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो । अन्य कैयौँ अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए । गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात नाभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो । त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नाभाल्नी अचेत भएका थिए । उनलाई नोभिचोक नामक विष दिइएको पत्ता लागेको थियो । नाभाल्नीका प्रवक्तालाई प्रदर्शनसम्बन्धी कानुन तोडेकोमा गिरफ्तार गरिएको छ । नाभाल्नीका प्रवक्ता किरा यार्मास र उनका एक वकिल ल्युबोभ सोबोललाई गिरफ्तार गरिएको छ । उनीहरूलाई जरिवाना वा छोटो जेल सजाय हुनसक्ने बताइएको थियो । सोबोललाई रिहा गरिए पनि यार्मासलाई नौ दिन जेलमा राखिने भएको छ । अन्य सहरमा पनि नाभाल्नीका चर्चित समर्थकहरूलाई गिरफ्तार गरिएको छ । नाभाल्नीकी श्रीमती युलियाले ‘आफ्नो लागि, नाभाल्नीको लागि र आफ्नो बच्चाहरूका लागि, हाम्रो समान मूल्य र मान्यताका लागि’ मस्कोमा प्रदर्शनमा सहभागी हुने जनाएकी छन् । –एएफपी