अग्निपीडितलाई राहत वितरण

शुक्रबार, कात्तिक ५, २०७८

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज यूकेले राहत रकम उपलब्ध गराएको छ ।

ताप्लेजुङ समाज यूकेको पहलमा यूकेमा संकलन गरिएको साढे सात लाख रुपैयाँ अग्निपीडितलाई उपलब्ध गराइएको हो । ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाललगायतको उपस्थितिमा अग्निपीडित परिवारलाई कुल सात लाख ६१ हजार रुपियाँ वितरण गरिएको छ ।

आगलागी भएको साढे आठ महिनापछि ताप्लेजुङ समाज यूकेले दोभानका अग्निपीडिलाई उक्त राहत रकम वितरण गरेको हो । समयमै राहत वितरण गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण ढिलो भएको संस्थाका अध्यक्ष दर्नालले बताए । ताप्लेजुङ समाज यूकेले अग्निपीडित ५७ परिवारलाई प्रतिपरिवार १३ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ ।

राहत रकम मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू र निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहको उपस्थितिमा पीडितलाई वितरण गरेको समाजले जनाएको छ ।

राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष चोङ्बाङले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोका ग्नि पीडितलाई सम्झेर सहयोग गरेकामा समाजप्रति आभार प्रकट गरे । आफ्नो पीडामा थोरै भए पनि मह्लमपट्टी गर्न सहयोग गरेकामा ताप्लेजुङ समाज यूकेलाई अग्निपीडित परिवारका तर्फबाट गुरुप्रसाद पौडेलले धन्यवाद दिए ।

गत १८ फागुनमा मेरिङ्देन गाउँपालिका- ३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा ५१ घर जलेका थिए । उक्त आगलागीबाट ४० करोड रुपैयाँभन्दा बढी क्षति भएको थियो ।

ताप्लेजुङ समाज यूकेले सोही समयमा सिरिजङ्घा गाउँपालिका- १ सिनाममा भएको आगलागीबाट पीडित बनेका चार परिवारलाई पनि ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको समाजले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार