१० वर्षदेखि बाँझो जग्गामा सामूहिक भैंसीपालन

शुक्रबार, कात्तिक ५, २०७८

१० वर्षदेखि बाँझो रहेको लमजुङको राइनास नगरपालिका-१ साइलीटारमा सामूहिक भैंसीपालन सुरु गरिएको छ । खेर गएको बाँझो जमिनमा ३४ जना स्थानीय आबद्ध भई भैंसीपालन सुरु गरेका हुन् । ‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’ मार्फत भैंसीपालन सुरु गरिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले बताए । सहकारीमा आबद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ संकलन गरी वीरगञ्जबाट मुर्रा जातको थारा भैंसी ल्याई व्यवसाय सुरु गरिएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार सुरुमा २० वटा थारा भैंसी र प्रजननका लागि एउटा राँगा पालिएको छ । कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रूपमा भैंसीपालन व्यवसाय सुरु गरिएको उनको भनाइ छ । फकोरोना भाइरसले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैंसी पाल्ने र दूध संकलन र बिक्री कार्यलाई अघि बढाइने सहकारीको लक्ष्य छ । कोरोनाले निम्त्याएको यो संकटपूर्ण समयलाई पनि आफूहरूले अवसरको रूपमा उपयोग गरी खेर गएको ६ सय रोपनी बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको अध्यक्ष घिमिरेले बताए । मसार कागती पकेट समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले दुई सय रोपनी जग्गामा कागती खेती सुरु गरिएको बताए । ‘६ सय रोपनी बाँझो जग्गामध्ये तीन सय रोपनीमा भैंसीपालन र दुई सय रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरिएको छ,’ उनले भने । कृषि ज्ञान केन्द्रको सहयोगमा दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार