राहतको पहल चाँडै : प्रधानमन्त्री 

बिहीबार, कात्तिक ४, २०७८

डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा आएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने आश्वसन दिएका छन् । आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ । सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला आएका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए । तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । 
प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आउनुभएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरे । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।
सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्केका छन् । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उनी गृहजिल्ला डडेल्धुरा आएका हु्न् । सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरी प्रधानमन्त्री देउवा कञ्चनपुर गएका हुन् ।  जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ । 

'गुरुयोजना बनाएर पीडितलाई सम्बोधन गर्छु'
प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए । “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उनले, भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” 
प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी छन् । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हँुदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिएका हुन् । उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए । 
सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्वाधरूपमा सञ्चालन नहुन सकेको छैन । 
कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ र दोधारा–चाँदनीमा क्षति पु¥याएको थियो । त्यसैगरी बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको छ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकामा आश्रय लिइरहेका छन् ।

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह  

प्रधानमन्त्री देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई  निर्देशन दिएका छन् ।  आज साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताए । बाढी डुबान पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, “बाढीपहिराबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।”  प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, “नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।” उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार