सोसल मिडिया
Contact Us
युनिकोड
डोटी । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्ग खुलेको हो । राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अवरुद्ध भएको उक्त राजमार्ग खुलाएको हो । यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा. केआइसिंह राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त राजमार्गको कालागाढ, अड्यौल, बानीडुग्रीसैनलगायतका ठाउँमा आएका पहिरो पन्छाइसकिएको र अब डडेल्धुरा क्षेत्रमा पर्ने ठाउँमा आएको पहिरो पन्छाउने काम भइरहेकाले सम्भवःत आज साँझसम्म उक्त राजमार्ग पनि खुल्नेछ । वर्षा र बाढी पहिराले अहिलेसम्म जिल्लामा १४ जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दजनौँ सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहान साढे ३ बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए । पहिरो हटाउनका लागि पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् । चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन केही समय लाग्ने भएकाले तत्काल यो सडक भएर यात्रा नगर्न पनि प्रवक्ता अधिकारीले सुझाव दिनुभएको छ । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।–रासस