सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७७–७८ मा कोरोना संक्रमण, रोकथाम तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार खर्च भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । सबैभन्दा बढी रकम हाइ डिपेन्डेन्सी युनिटका लागि खर्च भएको मन्त्रालयले जनाएको छ । यसमा ३ अर्ब २५ करोड खर्च भएको हो । यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा निकासामा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्तावाफतमा १ अर्ब १४ करोड २९ लाख ६ हजार र आइसीयू भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको हो । यस्तै मन्त्रालयले कोरोना परीक्षण र उपचारमा केही संशोधन गरेको छ । नेपाल सरकारले कोरोना परीक्षण र उपचार गर्न सुचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण वा चिह्न देखिएका बिरामीको परीक्षण र उपचार निःशुल्क गरिने डा.गौतमले बताए । कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै कोरोना उपचार खर्च बिमा रकमबाट गरिनेछ । सक्षम, इच्छुक र योगदान गर्न चाहने व्यक्तिहरुले परीक्षण र उपचारमा योगदान गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।