सोसल मिडिया
Contact Us
युनिकोड
पाँचथर । पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो । मिक्लाजुङ गाउँपालिकामै दुई जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ । गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका दुई जना अहेबलाई समेत पहिराले पुरेको हो । “अहिलेसम्म उहाँहरूका छाता भेटिएको छ । पहिराले दुई जना अहेबसहित तीन जनालाई सोरेर लगेको छ”, अध्यक्ष माखिमले जानकारी दिए । निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ । बाढी तथा पहिराका कारण हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् । निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन् । बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पु¥याएको छ । पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ । जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन् । सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन् । सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ । तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार केही घर पहिराले पुरेको छ भने बाढी र पहिराका कारण एक दर्जन बढी परिवार विस्थापित बनेका छन् ।
सुदूरपश्चिममा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो सुदूरपश्चिम प्रदेशमा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा छ जना, जोरायल गाउँपालिकामा छ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । सायल गाउँपालिका–६ का १४ वर्षीय सागर कुञ्जेडा, ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ । सायल गाउँपालिका–५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। जोरायल गाउँपालिका–३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक र सोही गाउँपालिका–१ का सचिन विकको पनि पहिरामा पुरिएर मृत्यु भएको छ । शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्धरा बलायरको पहिराको ढुङ्गा टाउकामा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ । उता बझाङमा बाढीपहिराले सात जनाको मृत्यु भएको छ । पहिरामा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो । खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नं ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका– ५ का धनराज जोशीको पहिरामा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहले बताए । पहिरामा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटर लगाएर निकालिएको थियो । यस्तै अविरल वर्षासँगै आएको पहिराले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर मृतकको सनाखत भने हुन सकेको छैन । गाउँपालिकाको वडा नं ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टरमार्फत डिख्ला पुगेको छ । पहिराले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १४८ परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । विस्थापित ७०० जना विद्यालयमा बसिरहेका छन् । नेपाली सेनाको हेलिकप्टरमाफर्त पहिरामा परेकाहरुको उद्धार र खोजीकार्यका लागि आवश्यक राहत र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उता बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका रामी पार्कीको घर पहिराले बगाउँदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा, २४ वर्षीया भानु र तीन वर्षीय सोम पार्की रहेका छन् । बैतडीकै सुर्नया गाउँपालिका– ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ । यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–८ कालीमाटीका करवीरे ढोलीको ज्यान गएको हो । सुदूरपश्चिममा अझै २५ जना बेपत्ता भएका छन् ।
बाढीबाट ३०० परिवार बिचल्लीमा
राजविराजको मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् । स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै आएका बेला नदी किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नुपर्ने बाध्यता रहेको बताए । राति अचानक ती बस्तीमा बाढी पस्दा साँझमा खाना पकाउनसमेत उनीहरू सकिएको छैनन् र अहिलेसम्म पनि भोकै रहेको पीडितले बताएका छन् । सोही वडाअन्तर्गत रहेको डोम बस्तीमासमेत छिरेको बाढीले करिब २० घर डोम परिवारलाई उठिबास बनाएको छ । डोम बस्तीअन्तर्गत चन्द्र मरिक, उपेन्द्र मरिक, सभापेत मरिक, सञ्जिव मरिक सुरेन्द्र मरिक, विरेन मरिकलगायत २० घर डोम परिवारलाई रूवावासी भएको छ । दुई दिनदेखि भोकै बस्न बाध्य बनेका उनीहरूलाई कतैबाट सहयोग मिल्न नसकिएको बताइएको छ । बाढी प्रभावित बस्तीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेको छ ।
बाढी पहिराले इलाममा आठको मृत्यु, सात बेपत्ता दुई दिनको लगातार आएको वर्षापछिको पहिरामा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिराका कारण फाकफोकथुम गाउँपालिकामा एकै परिवारका चारसहित छ जनाको ज्यान गएको छ । फाकफोकथुम–३ आमचोकमा एकै परिवारका चार जनाको पहिराले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । उनका अनुसार दुईतले घरको भुइँतलामा सुतेका उनीहरूलाई पहिराले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् । देउमाई नगरपालिका–२ की सरिता आचार्य, सूर्योदय नगरपालिकाका–३ जिलका नारायण मोते, माई नगरपालिका–३ का विशाल तामाङको मृत्यु भएको जनाइएको छ । त्यस्तै जिल्लामा सात जना बेपत्ता भएका छन् । बाढी, पहिराका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् ।
धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु
धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको हो । हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजाँदै गर्दा घाइते ११ वर्षीय सञ्जाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । मङ्गलबार राति करिब १२ बजे खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा उहाँसहित छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उहाँका नै वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ वर्षीय सञ्जालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । बाँकी घाइते पाँच जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण भेडेटार–६ नं बुधबारे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेलाई हेलिकप्टरमार्फत धरान लगिएको हो ।–रासस