सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । उनका अनुसार बाढीरपहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् । गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।
पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु
पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । यहाँ थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए । घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकिरहेको उनले बताए । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिस बेपत्ता रहेको र उद्धार तथा खोजी जारी रहेको बताए । अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन । वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन । यहाँ हिजोदेखि निरन्तर वर्षा भइरहेको छ ।
सुनसरीमा तीनको मृत्यु, छ जना बेपत्ता आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।
वर्षाले हुम्लामा २० घर भत्किए, १०० उच्च जोखिममा आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घर भत्किए पनि मानवीय क्षति भने नभएको उहाँले जानकारी दिए । छ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उहाँले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल वर्षाले एक घर भत्किएको छ भने लाखौँको क्षति भएको छ । यता सर्केगाड गाउँपालिका–४ साँयामा ११ घरमा क्षति गरेको बताइएको छ । अदानचुली गाउँपालिका–१ कल्खेमा तीनवटा घरमा पहिरोले क्षति गरेको छ । वर्षाका कारण वडा नं १ दशरथ महतारा, धनलाल भियाल र मानबहादुर महाताराको गरी तीनवटा घरमा क्षति गरेको बताइएको छ । यस्तै हुम्लाका विभिन्न स्थानीय तहमा रहेका १०० घर पहिराको उच्च जोखिममा छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ को थालीमा रहेका ५० घर पहिराको उच्च जोखिममा रहेको स्थानीय तारावीर रावलले जानकारी दिए । उनका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाले थालीगाउँका ५० घरधुरी पहिराको उच्च जोखिममा पर्नुका साथै उनीहरूलाई आफन्तको घरमा सारिएको छ । पहिराले खेतीयोग्य जमिनसमेत बगाइसकेको र घर पनि पहिराको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दामा सङ्कट सिर्जना भएको छ । यसैगरी जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–४ लौठीमा ३० घरपरिवार पहिरोको उच्चमा परेका छन् । लौठीगाउँ भिरालोमा रहेकाले गाउँबाट पहिरो बगिरहे पनि अहिलेसम्म क्षति नगरे पनि उच्च जोखिममा रहेको यहाँका स्थानीय जयराज सज्यालले जानकारी दिए । वर्षाले यस क्षेत्रमा भौतिक संरचनादेखि अन्य बालीनालीसमेत क्षति गरेको उनले बताए । यस्तै अदानचुली–२ खलेसेरा गाउँका २० घर पहिराको जोखिममा परेका छन् । गत वर्ष यस क्षेत्रका चार घर पहिरो परी पूर्णरूपमा क्षति भएको थियो । पहिरो पिडीतलाई सम्बन्धित निकायले कुनै सहयोग नगरेको यहाँका लगबहादुर बुढाले बताए । अहिले पनि २० घर पहिराको जोखिममा छन् । यसपटकको वर्षाले हुम्लामा कृषकले घर भित्र्याउन लागेको धानबाली, गहुँ, जौँमा क्षति पुगेको छ । पाकिसकेको बाली खेतमै रहेको र लगातरको वर्षाले कुहिएर खेर जाने भन्दै यहाँका किसानले चिन्ता व्यक्त गर्न थालेका छन् । वडा–२ को खलेसेरामा धानबाली, मकै, कोदोलगायत अन्य तरकारीजन्य खाद्यान्नसँगै जमिनसमेत बगाएको छ । यता अदानचुली वडा ३ मा रहेको हालै मात्र बनाएको महिला भवनसमेत भत्काएको छ ।–रासस