सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शनका लागि राजधानीका प्रायः सबै क्षेत्रबाट नेता कार्यकर्ताको जुलुस निस्कँदा राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । प्रदर्शनका कारण उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारी साधान लामो समय जाममा परेका थिए । प्रदर्शनमा भाग लिन लिन राजधानी बाहिरबाट पनि ठूलो संख्यामा मानिसहरू आएका थिए । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका हुन् । स्थायी कमिटी सदस्यहरुले ¥यालीको नेतृत्व गरेका थिए । पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत भएको थियो । राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए । जुलुसमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति थियो । यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ । दशौँ हजारको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित जनप्रदर्शन हालैका वर्षमा राजधानीमा आयोजित सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको ठानिएको छ । प्रदर्शनपछि राजधानीको रत्नपार्कमा आयोजित सभामा नेपाकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन सदर भए त्यसले शान्ति प्रक्रियालाई पछि धकेल्ने भन्दै त्यस्तो अवस्थामा आफूले लाखौँ मान्छे सडकमा उतारेर शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा शुक्रवार हजारौँ समर्थकलाई सम्बोधन गर्दै उनले सर्वाेच्च अदालतले ‘असंवैधानिक कदमलाई’ खारेज नगरे देशमा द्वन्द्व र अराजकता आउनसक्ने चेतावनी दिए । तत्कालीन नेकपा एमालेसँग आफ्नो दलले पार्टी एकीकरण गरेपछिको बतीन वर्षको अवधिमा आफूले स्वेच्छाचारी रूपमा पार्टी चलाउन खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसक्नु गल्ती भएको उनको भनाइ थियो । आफ्नो सम्बोधनमा प्रचण्डले देशको ‘संविधान आइसीयूमा रहेको समयमा पनि प्रधानमन्त्री ओलीले ठट्टा मजाक’ गरिरहेको भन्दै जनताको शान्तिपूर्ण संघर्षमार्फत प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन बाध्य पार्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका वरिष्ठ नेताहरूले सरकारलाई काम गर्न नदिएपछि आफूले ताजा जनादेश लिने राजनीतिक निर्णय गरेको बताउने गरेका छन् । प्रचण्डले आफ्नो असंवैधानिक कदममार्फत् ओलीले संविधान र शान्ति प्रक्रिया दुवैलाई विघटन गर्न चाहेको आरोप लगाएका छन् । उनले भने, ‘यो देशमा फेरि युद्ध होस, फेरि हिंसा होस, फेरि अराजकता होस, फेरि आन्दोलन गर्ने परिस्थिति बनोस् भन्ने कसैले पनि चाहेको छैन ।’
सर्वाेच्च अदालतका सम्मानित न्यायाधीशहरू यो देशमा फेरि द्वन्द्व, फेरि अराजकता, फेरि हिंसा चाहनुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिन’ प्रचण्डले सम्बोधनका क्रममा भने । उनले थपे, ‘तर यदि केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठर्हयाउने काम भयो म फेरि युद्धमा जाने वा हिंसाको कुरा छैन ।’ ‘शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा प्रतिबद्धता जनाएर तीन–तीनवटा चुनाव हामीले लडिसक्यौँ । तर यदि त्यस्तो भयो भने शान्तिपूर्ण ढङ्गले निरन्तर लाखौँलाख जनता अपील गरेर निरकुंशता सच्याउने मेरो प्रयास भई नै राख्छ’ उनले भने । प्रचण्डले थपे, ‘तर ओलीको निरकुंशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया पछि धकेलिन्छ कि भन्ने मलाई चिन्ता छ । म गम्भीर शब्दमा सबैलाई अपील गर्न चाहन्छु कि देशलाई बरबाद हुने दिशामा नलगौँ ।’ प्रतिनिधिसभा विघटनलाई चुनौती दिँदै दायर गरिएका एक दर्जनभन्दा बढी रिटहरूको सुनुवाइ सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भइरहँदा प्रचण्डको पछिल्लो टिप्पणी आएको हो । प्रतिनिधिसभा विघटन यताका दिनमा प्रधानमन्त्री ओली सहित दुवै समूहका नेताहरूले उक्त मुद्दामा आफ्नो पक्षमा फैसला आउने आशय सहितका धारणा राखिराखेका छन् । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै प्रचण्डले राजवादी वा दक्षिणपन्थी जोसुकैसँग मिलेर भए पनि प्रचण्डलाई समाप्त पार्ने एकमात्र ‘मिसन’ ओलीले बोकेको आरोप लगाए । आफ्ना कमजोरीको समीक्षा गर्ने र जुनसुकै ढङ्गले भए पनि प्रतिनिधिसभा विघटन सहितका विषयमा गरिएका ‘षडयन्त्रका सेटिङ्’ भत्काउने उनले बताए ।
नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीको कामको जनताले हिसाबकिताब गरिरहेको भन्दै ओलीसँग झुक्ने काम अब नेकपाले नगर्ने बताए । उनले ओलीसँग सँगै जाने सम्भावना नरहेको उल्लेख गर्दै अन्य दललाई आशंका नगर्न अनुरोध गरे । नेपालले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै ओलीको कदमले निर्वाचित प्रधानमन्त्रीको तानाशाही स्वरूप देखाएको बताए । त्यस क्रममा उनले ओलीलाई हिटलरसँग तुलना गरेका थिए । ५० वर्ष आफूले ओलीसँग काम गर्दा हैरानी खेपेको भन्दै ‘मुलुक केपी ओलीका गफ र उखान टुक्काले मात्रै चलिरहेको’ बताए । पार्टी एकताको सुरुवातदेखि नै ओलीका व्यवहार आपत्तिजनक भए पनि आफूहरूले सुध्रिने अपेक्षा गरेको उल्लेख गर्दै त्यो ठिक वा बेठिक भनेर समीक्षा गर्नुपर्ने बताए । नेता नेपालले ओलीसँग ‘अरिङगाल र साइबर सेना बाहेक केही नरहेको’ बताउँदै आफ्नो पार्टी मूल पार्टी हुने उल्लेख गरे । विरोधसभामा बोल्दै नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री ओली अब कम्युनिस्ट नरहेको बताए । उनले भने, ‘अब केपी ओली कमरेड रहेनन् । केपी ओली कम्युनिस्ट पार्टीलाई आफैँ त्याग गरेर पार्टीलाई चोइटाएका छन् । अरूलाई भगौडा भन्दै हिँड्ने उनी आफै भगौडा हुन् ।’ ओलीले आफू नेकपाको वैधानिक अध्यक्ष रहेकाले निर्वाचन आयोगले आफूले नेतृत्व गरेको समूहलाई आधिकारिकता दिनुपर्ने धारणा राख्दै आएका छन् । सभामा बोल्दै खनालले ‘बालुवाटारको पार्टी आधिकारिक हो भन्नु भद्दा मजाक हो’ भन्दै केन्द्रीय कमिटीको अत्यधिक बहुमत आफूहरूसँग रहेकाले आफ्नो समूहले आधिकारिता पाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनपछिको अवस्था प्रधानमन्त्री ओलीको गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । त्यसयता सत्तारूढ नेकपा फुटको संघारमा पुगेको छ । आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको छ । प्रचण्ड–नेपाल समूहले ओलीलाई कारबाही स्वरूप अध्यक्षबाट हटाएको छ । यो समूहले ओलीलाई साधारण सदस्यबाट किन नहटाउने प्रश्नसहित स्पष्टीकरण सोधेको छ । ओली पक्षले पनि प्रचण्ड नेपाल समूहका कैयौँ नेताको जिम्मेवारी खोस्दै पार्टीका कतिपय कमिटीहरू पुनर्गठन गरेको छ ।