बाढीपहिरोमा परी मृत्यु हुने ४८ पुगे, ३१ बेपत्ता

बुधबार, कात्तिक ३, २०७८

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो । त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ÷छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए। पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।  यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिएका छन् । 

डोटीमा १२ को मृत्यु
आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन् । योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो ।  उनका अनुसार बाढीपहिरामा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ । त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन् । यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिरामा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो । सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनकी १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन् । सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ । यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ । घाइते अवस्थामा रहेका उहाँकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ । यस्तै पहिरासँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । यस्तै सोमबार रातिको पहिराले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो । सोही घटनामा परी तीन जना घाइते भएका थिए । यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय,  प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए। 

पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु
हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरामा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले बताए । खर्पेलगाउँस्थित धनवीरे शाहीको घरमा मङ्गलबारराति माथिबाट खसेको पहिराले घर पुरिँदा धनवीरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिराले पुरिएर बेपत्ता भएका भनिएका धनवीरे शाही र उनका १४ वर्षीय छोरा अलेन्द्र शाहीको शव निकालिएको छ । 

पहिरोमा परी बैतडीमा चारजनाको मृत्यु

केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा बैतडीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकामा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  लगातारको अविरल वर्षाका कारण गएराति घर भत्किँदा सुर्नया– ५ रामकी बरायलकी ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको छ । यस्तै ५५ वर्षीया सरस्वती विष्ट र निजकी बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन् । यस्तै जिल्लाको शिवनाथ– ६ बसेडीमा घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । वर्षाका कारण तीन दिनदेखि यहाँको विद्युत् सेवा र सञ्चार सेवा पनि बन्द रहेको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार