सोसल मिडिया
Contact Us
युनिकोड
वासिङटन । अमेरिकी राष्ट्रपतिमा जो बाइडनले शपथ लिएसँगै चीनले निवर्तमान अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित २८ जना बरिष्ठ अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ ।ती अधिकारी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा वरिष्ठ पदमा कार्यरत थिए । ट्रम्पकालका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट सी ओ ब्रायनमाथि पनि प्रतिबन्ध लागेको छ । चीन–अमेरिका सम्बन्ध बिगार्ने तथा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न उक्साएको आरोपमा उनीहरूमाथि प्रतिबन्ध लगाएको चीनले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले राष्ट्रको सम्भ्रुता उल्लंघनको आरोप लगाउँदै निवर्तमान विदेशमन्त्री पोम्पियोसहितका अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्ध घोषणा गरिएका अमेरिकी अधिकारी चीनको सीमामा कुनै प्रकारबाट प्रवेश पाउने छैनन् । चीनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिए लगत्तै चीनले बरिष्ठ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । चीनको विदेश मन्त्रालयले भनेको छ, ‘यी सबै अमेरिकी अधिकारी चीन–अमेरिका सम्बन्ध विगार्न जिम्मेवार छन् ।’ प्रतिबन्ध लाग्ने अमेरिकी अधिकारीको सूचीमा पीटर नेबारो, डेभिड स्टिलवेल, म्याथ्यु पटिङ्गर, एलेक्स अजर, कीथ क्र्याच, केली डी के क्राफ्ट, जोन आर बोल्टन, स्टीफन के ब्याननको नाम समावेश छ । यो घोषणा लगत्तै ती अमेरिकी अधिकारीसहित उनको परिवारका सदस्यलाई पनि चीनको मुख्य भूमिका अतिरिक्त हङकङ, मकाउ प्रवेशमा पनि प्रतिबन्ध लाग्नेछ । चिनियाँ विदेश मन्त्रालयको प्रतिबन्धको सूचीमा परेका ती अधिकारीले चीन वा कुनै पनि चिनियाँ कम्पनीसँग व्यापार व्यवसाय पनि गर्न पाउने छैनन् । ट्रम्पको कार्यकालमा चिनियाँ अधिकारीमाथि पनि यस्तै कारबाही गरिएको थियो । अमेरिकाले सिनचियाङ प्रान्तका गभर्नरलाई प्रतिबन्धको घोषणा गरेको थियो । ट्रम्पका सहयोगीमाथि प्रतिबन्ध घोषणा गरेको चीन ट्रम्पका विषयमा भने मौन रहेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाका निवर्तमान विदेशमन्त्री माइक पोम्पियोलाई ‘महाविनाशको पुत्ला’ को संज्ञा दिँदै उनले चीनमाथि लगाउँदै आएको ‘नरसंहार तथा मानवता विरुद्धको अपराध’ केवल रद्दीको पर्चा भएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘चीनको सिन्चियाङ क्षेत्रमा मुस्लिम अल्पसंख्यक समूहलाई प्रताडित गरेको आरोप लगाउनु सनसरी फैलाउने वेरुपी प्रस्तुत’ हो । चीनविरुद्ध दुर्भावना फैलाउने पोम्पियोको नेतृत्वमा कम्युनिस्ट विरोधी शक्तिको मनगढन्ते भनाइ हो प्रवक्ताले भनेका छन् । विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन, ‘यी अमेरिकी नेता झुठो बोल्न र धोका दिन कुख्यात छन् । उनीहरू स्वयम्ले आफूलाई महाविनाशको वाहक बनाइरहेका छन् ।’ डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम समयमा गरको आदेशमा चीनको सिन्चियाङ प्रान्तमा मुस्लिममाथि उत्पीडनलाई नरसंहार घोषणा गरेका छन् । अमेरिकी घोषणापछि चीनको २८ अधिकारीमाथि प्रतिबन्ध लगाउने घोषणा आएको हो । –एजेन्सी