सोसल मिडिया
Contact Us
युनिकोड
बझाङ । यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।
बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित
सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । वर्षाकै कारण गौरीगञ्ज–१ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ ।
धानबालीमा क्षति निरन्तरको वर्षापछि आएको बाढीले झापाको ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा वर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । पाकेर बाली उठाउने बेलाको धानमा बर्सातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्णरूपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण सङ्कलन सुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए ।