सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने, “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको छ । ” जिल्लाका किसानले धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती बेहोरेका थिए । किसान जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् । “काटेको धान पानीमा डुब्यो भने दुई÷तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धान खेतीले गुजारा चलेको थियो । पानीले सबै चौपट गरायो,” हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले गुनासो गरे । जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो । गत वर्षभन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो । लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आङ्कलन गरिएको केन्द्रका प्रमुख कुशवाहले बताए । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गरे । लगातारको वर्षाका कारण पूर्व पश्चिम लोकमार्गका अधिकांश कलभर्टमा पानीको बहाव बढेको र यसबाट सवारी साधन आवतजावत गर्न समस्यामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाले तनहुँको धानबाली नष्ट, २० प्रतिशत उत्पादन घट्ने
केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको कृषकले बताएका छन् । व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले काटेर थन्क्याउन बाँकी रहेको धान पानीले क्षति बनाएको बताए । चार रोपनी क्षेत्रफलमा लगाइएको धानमध्ये डेढ रोपनीको धान काटेर भित्र्याउन बाँकी रहेको बेला पानीले क्षति बनाएको जानकारी दिए । “एक रोपनीको धान झाटेर थन्क्याइसके, बाँकी डेढ रोपनीको काटेर मात्रै राखेको थिएँ, पानीले बिगा¥यो,” उनले भने । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको नयाँ प्रजातिको धान भएकाले छिटो पाकेको उहाँले बताउनुभयो । “यहाँ अरू कृषकको धान पाकेको छैन, मैले नयाँ प्रजातिको धान लगाएको थिएँ छिटो पाक्दो रहेछ,” उनले भने । पौडेलका अनुसार काट्न बाँकी रहेको धान भने खेतमै रहेको छ । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा पनि वर्षाले धानबालीमा क्षति पु¥याएको छ । नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डितले काटेर राखेको साढे चार सय रोपनीको धान पानीले बिगारेको जानकारी दिए । “काटेर खेतमै छाडिएको धान पानीले बिगारेको छ, घाम लागेर सुक्यो भने काम आउला,” उनले भने, “सुकेपछि उठाउँदा झर्ने सम्भावना पनि हुन्छ ।” दुई दिनको वर्षाले जिल्लाका अधिकांश ठाउँमा धान बिगारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लाको व्यास, शुक्लागण्डकी, म्याग्दे, आँबुखैरेनी लगायतका धानखेतमा वर्षाले नोक्सान गरेको छ । “यो वर्ष करिब २०÷२५ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ,” उनले भने । केन्द्रका अनुसार जिल्लामा ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैतेधान हुने गरेको छ । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्रहरू धान खेतीका लागि प्रख्यात मानिन्छन् ।